
दैलेखः जनस्वास्थ्य क्षेत्रमा पुरुष भन्दा महिलाहरू धेरै कुरा खुलेर गर्न सक्दैनन् । महिलाहरूको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न विशेष गरेर महिला जनस्वास्थ्यकर्मीहरूकै योगदान धेरै हुने गर्दछ । लामो समयदेखि दुर्गम जिल्लाहरूमा काम गरेर अनुभव बटुलेकी हैकली (हरिकला) थापा अब्बल स्वास्थ्यकर्मीका रूपमा परिचित छन् । दार्चुला र दैलेख जस्ता दुर्गम जिल्लाहरूमा बसेर महिलाहरूको प्रजनन् स्वास्थ्य, स्वास्थ्य अधिकार लगायतका क्षेत्रमा पैरवी सहित निष्पक्ष सेवा प्रदान गरेका कारण उनी अब्बल जनस्वास्थ्यकर्मीका रूपमा परिचित छन् ।
विगत १८ वर्षदेखि स्वास्थ्य प्रणालीमा उनले काम गर्दै आएकी छन् । विशेष गरेर प्रजनन् स्वास्थ्यलाई महत्वका साथ उठाउँदै आएकी हैकली थापा अहिले नेपाल जनस्वास्थ्य संघको केन्द्रीय सह कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रजनन् स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै लैजान, नीति तथा योजना निर्माण गरेर सरकार र सम्बन्धित निकायहरूसँग बहस र पैरवी गर्दै अनुगमन र मूल्याङ्कनको पाटोमा थप प्रभावकारी बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको थापाको भनाई छ ।
जनताको सेवा गर्ने क्रममा उनले उत्कृष्ट कर्मचारीको समेत सम्मान प्राप्त गरेकोले आफूलाई निर्वाचनमा देशभरका जनस्वास्थ्यकर्मीहरुले विजयी गराउन सहयोग गर्ने थापाले आशा गरेकी छन् ।
जनस्वास्थ्य क्षेत्र सँगै विभिन्न सामाजिक क्षेत्रमा महिलाहरूको हक हित र अधिकारका लागि पैरवी गर्दै आएकी थापाले आफूले निर्वाचनमा विजयी हुने दाबी गर्दै आफ्नो प्यानलमा रहेका अध्यक्ष पदका उम्मेदवार वसन्त अधिकारी सहितको प्यानल नै विजयी हुने पक्का भएको बताएकी छन् । गुणस्तरीय जनस्वास्थ्य सेवा प्रभावकारी बनाउने र जनस्वास्थ्य क्षेत्रमा देखिएका दरबन्दी लगायतका सवै खाले समस्याहरूको समाधान प्रगतिशील प्यानलका उम्मेदवारबाट मात्र सम्भव भएकोले सबैले आफ्नो प्यानलाई मतदान गर्न थापाले आग्रह गरेकी छन् ।






